जिप दुर्घटना: बेहुला बेहुलीसहित सात जनाको मृत्यु
काठमाडौ, ९ मंसिर । रुकुमको मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्रधान विवाह गरेर फर्कंदै थिए । घटनामा मृत्यु भएका मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ र सुधन श्रेष्ठ बाबु–छोरा हुन् । मुसिकोट नगरपालिका १ का जनक शाह र सुरेखा शाह तथा त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको मृत्यु भएको छ । जिप चालक दाङका प्रेम थापा, सह चालक रूकुम पश्चिम बाँफिकोट गाउँपालिका मग्माका प्रेम केसी र दाङका टेकबहादुर खत्री घाइते छन् । खत्रीको अवस्था गम्भीर छ ।