काँग्रेसमा किचलो , सभापतिसहितलाई १५ वर्षको लागि कारवाहीको सिफारिस
काठमाडौं, ९ पुस । नेपाली काँग्रेस पर्साले चुनावमा अन्तरघात गरेको भन्दै पूर्वसभापतिसहित १२ जनालाई कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । चौधरी पर्सा पार्टीका पूर्व सभापति समेत हुन् । त्यसैगरी अर्का पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीलाई पनि कारवाहीको सिफारिस गरिएको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए । असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउन लागेको भन्दै चौधरी र क्षेत्री संलग्न रहेको बताउँदै श्रीवास्तावले उनीहरुलाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेको जानकारी दिए ।
बैठकले चौधरी र क्षेत्रीसँगै १२ जना नेताहरुलाई कारवाहीको लागि केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताए । क्षेत्रीय अध्यक्ष श्रीवास्तवले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डे कारवाहीको सिफारिसमा परेका छन् ।