जेब्राक्रसमै टिपरको ठक्करबाट मृत्यु

२०७४ माघ ११ गते, बिहीबार

काठमाडौं, ११ माघ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई बिहीबार बिहान लु१ख ९८३९ नम्बरको टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् । घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दैगर्दा तीव्रगतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–२ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सख्त घाइते भएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारकाक्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । सोहीक्रममा आक्रोशित समूहले अन्य दुईओटा टिपरसमेत तोडफोड गरी क्षति पुर्‍याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]