भारत पुर्‍याइएका चेलीको उद्धार

२०७४ माघ १७ गते, बुधबार

काठमाडौँ , १७ माघ । केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो । उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिइन । एकजनाको आफ्नै श्रीमानले नै भारत पुर्‍याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताइन । एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ।
अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्को एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उनको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ । उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो । विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउँछिन । दुईजना भने पढ्दै छन् । गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]