सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको मृत्यु

२०७४ माघ २३ गते, मंगलवार

काठमाडौं, २३ माघ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१/७२ मा दुई हजार चारजनाको, ०७२/७३ मा दुई हजार ६ जनाको, ०७३/७४ मा दुई हजार ३८४ जनाको र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन् । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,’ उनी भन्छन् ।
आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् । सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]