देवघाटमा विद्युतीय शवदाह गृह बनाइने
काठमाडौं, २३ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ ओटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो । सो गृह निर्माणका लागि सहरी विकास मन्त्रालयबाट विस्तृत् अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए । १५ दिनपछि अध्ययन प्रतिवेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उनले बताए । करिब रु सात करोड लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागि चालू आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले रु ५० लाख र भरतपुर महानगरपालिकाले रु २० लाख बजेट छुट्याएको छ । विस्तृत् अध्ययनको प्रतिवेदन आइसकेपछि शवदाहस्थल निर्माण सुरु गरिने अध्यक्ष पौडेलले जानकारी दिए । ‘देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्काेतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शवदाह गृहमा नै जोड गरेका हौं’–उनले भने । दाउराबाट एउटा लास दाहसंस्कार गर्न रु तीन हजारभन्दा बढी खर्च लाग्ने गर्छ । विद्युतीय शवदाहबाट दाउराकोभन्दा पनि खर्चमा ७५ प्रतिशत कटौती हुन्छ ।
यसैगरी, भरतपुर अस्पतालमा बेवारिसे शवको संख्या पनि निकै हुने गरेको छ । ती शव व्यवस्थापनमा पनि कठिनाइ हुँदै आएको छ । देवघाटमा शवदहनका लागि चितवन र बाहिरी जिल्लाबाट दाउरा ल्याइँदै आइएको छ । – रासस