चर्च निर्माणका लागि सरकारी बजेट
काठमाडौँ, २६ माघ । रोल्पाको माडी गाउँपालिकाले क्रिश्चियन धर्म प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ । रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका ईशाइ धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मण्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो । माडी गाउँपालिका वडा नम्बर ५ मा मन्डली भवन निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा नम्बर १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुने गरी अहिले योजनाको नाम भने फेरिएको छ । कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ । माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन् । ‘साझा क्षेत्रमा छुट्याउनुपर्ने बजेट कुनै एक धर्म विशेषका लागि छुट्टिनु राम्रो होइन,’ माडी गाउँपालिका घर भएका कांग्रेस रोल्पाका पूर्व सभापति कृष्णबहादुर घर्तीमगर भन्छन् । – नागरिक दैनिकबाट