स्पिड ब्रेकर हटाईदै

२०७४ फाल्गुन ३ गते, बिहीबार

काठमाडौं, ३ फागुन । ललितपुर महानगरपालिकाले सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का हटाउने भएको छ । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि सो हटाउन लागेको बताइएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘केही दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आउनुभएको थियो ।’ महानगरपालिकाका भित्री बाटोमा छोटो दूरीमा नै धेरैवटा स्पिड ब्रेकर छन् । यिनले सडक दुर्घटना बढाएका छन् ।
आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ । प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने बताए । उनले भने, ‘हामीले कतिपय भत्काइसकेका छौँ र कति भत्काउने क्रममा छौँ ।’
महानगरपालिकावासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन् । स्थानीयवासीको गुनासो सम्बोधन गर्दै महानगरपालिका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक व्यवस्थापनमा लागेको छ । स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरपालिकाले गर्दैछ । सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि संरचना निर्माणको काम स्थानीय निकायको हो ।

प्रतिक्रियाहरु

[anycomment]