असला माछा मार्न प्रतिबन्ध

२०७४ फाल्गुन २१ गते, सोमबार

काठमाडौं, २१ फागुन । खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको १० नम्बर वडा पाथेका र ११ नम्बर वडा खार्मीका स्थानीयवासीले स्थानीय खोलाहरुमा पाइने माछा मार्न प्रतिबन्ध लगाएका हुन् । करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि स्थानीयले मार्न रोक लगाइएको वडाध्यक्ष रामचन्द्र राईले बताए । असला माछा संरक्षणका लागि स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति बनाइएको जनाइएको छ ।
संरक्षण समितिले पहिलोपटक माछा मारेको भेटेमा ५ देखि १० हजार, दोस्रोपटक भेटेमा १० देखि २० हजार र तेस्रोपटक भेटेमा २० देखि ३० हजार रुपैयाँसम्म नगद जरिवानासहित कानुनी कारबाही गर्ने निर्णय गरेको वडाध्यक्ष राईले बताए । संरक्षण समितिमा आवद्ध स्थानीयले माछा पाइने खोलाहरुको नियमित अनुगमनसमेत थालेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्याद्वारहरुमा असला माछासहितको होडिङबोर्ड राखिएको समितिले जनाएको छ ।
यसअघि, उक्त खोलाहरुमा पाइने असला माछा स्थानीयले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलाहरुमा नै प्रशस्त पाइने असला माछा खोटाङमा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]