क्यान्सरपीडित भन्दै चन्दा उठाएर मोजमस्ती गर्नेलाई जेल
काठमाडौं, २९ चैत । आफू क्यान्सरपीडित भएको भन्दै आफन्त र शुभचिन्तकसँग चन्दा संकलन गरी मोजमस्तीमा खर्च गरेको आरोपमा एक युवतीलाई तीन महिनाको जेल सजाय तोकिएको छ । अस्ट्रेलियाकी २४ वर्षीय हना डिकन्सनले आफ्नो आमाबुवालाई समेत उपचारका लागि विदेश जानुपर्ने बताएकी थिइन् । अदालतका अनुसार हनाकै भनाइलाई मानेर उनका बुवाले आफ्ना निकटसँग आर्थिक सहयोग लिएका थिए । यसरी संकलन गरिएको रकमको ठूलो हिस्सा हनाले घुमफिर र मोजमस्तीमा खर्च गरेको पाइएपछि उनलाई गिरफ्तार गरी कानूनी कारवाही गरिएको हो ।
मेलबर्नस्थित एक अदालतमा सुनुवाइका क्रममा उनलाई सात आरोपमा दोषी पाइएको छ । हनाको व्यवहारबाट मानवीयता र मानिसको विश्वासमाथि घात भएको अदालतको ठहर छ । आर्थिक सहयोग गरेका एक व्यक्तिले हनाको फेसबुकमा पोस्ट भएका केही तस्वीर देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । ती व्यक्तिले हनालाई क्यान्सर नभएको आशंकासहित प्रहरीलाई उनको उपचारका लागि उठाइएको चन्दा दुरुपयोग भएको उजुरी गरेका थिए । -एजेन्सी