बलात्कारको प्रयास अभियोगमा कानुन व्यवसायी समातिए
काठमाडौं, १९ वैशाख । चितवनको भरतपुर महानगरपालिका–१० बस्ने कानुन व्यवसायी प्रकाश भट्टराई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार १०+२ पढ्दै गरेका दुई युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा लिइएको हो । उनलाई बुधबार म्याद थप गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक थापाले बताए । पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि निज भट्टराईलाई नियन्त्रणमा लिइएको उनले बताए ।भट्टराई जिल्ला अदालत बार एसोसिएसन चितवनका साधारण सदस्य हुन् । – रासस