अझै एक / दुई दिन बदली र वर्षा हुने
काठमाडौं, २० वैशाख । पूर्वमनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ ।प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने र क्षणभरमै बदली तथा वर्षा भइरहेको छ । विगत चार/पाँच दिनदेखि प्री–मनसुनी गतिवविध सक्रिय रहेको तथा स्थानीय वायुसँगै बाहिरी मौसमी प्रणालीको पनि प्रभावले बदली र वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
‘अहिले भइरहेको मौसमी गतिविधि स्थानीय वायुसँगै बाहिरी (वायु) मौसमी प्रणालीको पनि प्रभाव रहेको छ । पूर्वी र मध्य क्षेत्रमा बंगालको खाडीको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका साथै स्थानीयरुपमा न्यून चापीय प्रणालीको विकासले एक हप्तादेखि मौसमी गतिविधि बढेको हो । यो अझै एक/दुई दिन जारी रहन्छ’–उनले भने ।
महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । बिहीबार सबैभन्दा बढी भैरहवामा ६५, वीरेन्द्रनगरमा ३१, ओखलढुंगामा २०, दीपायलमा १७, ताप्लेजुङ र दाङमा समान ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा सबैभन्दा कम एक मिलिमिटर वर्षा भएको छ । अहिले पनि अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भइरहेको माहाखाले जनाएको छ ।
मौसमविद्काअनुसार सामान्यतः प्री मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म मानिन्छ । कहिले–काहीँ यो तलमाथि पनि हुनसक्छ ।
‘प्री मनसुन’ मार्च, अप्रिल र मेलाई मानिन्छ । प्री मनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ । खासगरी यसको प्रभाव पहाडी क्षेत्रमा बढी पर्छ । यसलाई सहयोग गर्न बंगालको खाडीको जलवास्पयुक्त हावा देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने र कहिले–काहीँ पश्चिमी वायुको प्रभावले गर्दा विहान वा दिउँसोपख बदली र वर्षा गराउने हुन्छ । बिहीबार काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम २७ र न्यूनतम् १६ डिग्री सेल्सियस रहेको छ । – रासस