सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध
काठमाडौं , १८ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा गए रातभरि परेको अविरल वर्षाका कारण यातायात अवरुद्ध भएको छ ।सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स (सिद्धबाबा मन्दिर) नजिकै आज बिहान ३ बजे पहिरो खसेपछि यातायात अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको दोभानका स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेले बताए ।
राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । यसअघि पनि राजमार्गको सो क्षेत्रमा दुई पटकसम्म पहिरो खस्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।