महाकाली पुलमा चारपाङ्ग्रे सवारीमा रोक
काठमाडौं, १९ असार । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले महाकाली पुलमा चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाएको छ ।
नदीमा पानीको बहावले खतराको चिन्ह नाघेपछि भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ । आइतबारबाट परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ४५ हजार ७ सय ८ क्यूसेक पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ ।
पहाडी जिल्लामा सामान्य वर्षा भएका कारण महाकाली नदीको बहाव सामान्य रहे पनि कञ्चनपुरमा भएको वर्षाका कारण शारदा व्यारेजमा पानीको बहाव बढी देखिएको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलामा अहिले पानीको सतह ४ मिटर छ । दार्चुलामा ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ ।
त्यसैगरी, डडेल्धुराको परी गाँउमा ६ मिटर ५० सेन्टीमिटर नाघे खतरा मान्ने गरिएकोमा अहिले पानीको बहाव ४ मिटर ९ सेन्टीमिटर रहेको छ । नदीमा पानीको बहाव बढेसँगै महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।
उता ,लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालिकाको वडा नम्बर ३ को पकरियापुर, वडा नम्बर ५ को नौबस्ता, कटीपुर, लालबोझी, वडा नम्बर ७ को सिराधानी बस्ती, गणेशमान मुक्तकमैया बस्ती, वडा नम्बर ८ को काँडाढिक र वडा नम्बर ९ को खुरखुरिया र ओखरपुर बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । डुबानमा परेका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । डुबानमा परेका बस्तीका स्थानीयलाई बस्तीमा वनाईएको सेफ हाउसमा राखिएको छ भने कतिपय परिवारलाई हुलाकी राजमार्गमा राखिएको छ । बाढी प्रभावित क्षेत्र भजनी नगरपालिकामा स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।