उपत्यकाभित्र दिउँसो ट्रिपर चलाउन नपाइने

२०७५ असार २८ गते, बिहीबार

काठमाडौं, २८ असार । गृह मन्त्रालयले उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध लगाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको यो निर्देशन पछि अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुने छन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम तत्काल कार्यान्वय गर्ने गरी निर्देशन दिएको हो । ‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेकै छ’, उनले भने । गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।
यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षिय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले चासो देखाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]