क्रान्तिकारी पत्रकार संगठनका पदाधिकारीद्वारा न्यूनतम पारिश्रमिक निर्धारण नेतृत्व र अधिकारकर्मीसँग भेटघाट
काठमाडौं, १४ असोज । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय पदाधिकारीसहितको टोलीले पोखरामा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष, नेपाल पत्रकार महासंघका नेतृत्व तथा अधिकारकर्मीलगायत अग्रज पत्रकारहरुसँग आइतबार भेट गरेको छ ।
संगठनका केन्दीय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, सचिव सिर्जना तिम्सिना, कोषाध्यक्ष जानकी चौधरी, केन्द्रीय सदस्य ओम हमाल, टिका केसी, शिव डुम्रे, रमाकान्त बास्तोलासहितको टालीले निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीसँग भेट गरेको छ । भेटमा संचार गृहमा काम गर्ने संचारकर्मीसहित सबैले तोकिएको पारिश्रमिक पाउन नसकिरहेको र पारिश्रमिक न्युन रहेको विषयबारे कुराकानी भएको बताए ।
त्यस्तै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष उमाकान्त शर्मासँग भेट गरी प्रेस स्वतन्त्रतामाथिको सरकारको हस्तक्षेपसहित समसामयिक विषयमा छलफल गरेको केन्द्रीय सदस्य शिव डुम्रेले जानकारी दिएका छन् । भेटघाट तथा छलफलमा एभिन्युज टेलिभिजनका ब्युरो प्रमुख कमल पराजुली, पाका पत्रकार शिव दाईलगायत जिल्लाका सक्रिय पत्रकारहरुसँग प्रेस स्वतन्त्रताको रक्षा गर्नेबारे छलफल भएको जानकारी दिइएको छ ।
त्यसैगरी वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालसँगको भेटमा बरालले मुलुकमा ओली सरकारको गठनयता मानवअधिकारको अवस्था नाजुक बन्दै गएको र यसले अन्तर्राष्टिय रुपमै गाह्रो बनाउने खतरा बढेको बताए ।
पछिल्लो दुई महिनायता मानवधिकारको अवस्था झनै खस्कदै गएको भन्दै अधिकारर्की बरालले गम्भीर चिन्ता व्यक्त गर्दै मानवअधिकार उल्लंघनका घटना रोक्न सरकारसँग आग्रह गरे । हत्या, हिंसा र बलात्कार घटनाले समाजलाई त्रसित तुल्याएको र नागरिकको अधिकारको रक्षाबारे विश्वास घट्ने खतरा बढेको जनाउँदै यसबप्रति सरकारको ध्यानाकर्षण गराए ।