प्रेस काउन्सिल पुरस्कार देवकोटा र बराललाई
काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल पुरस्कारबाट नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरडटकमका सम्पादक अरुण बराल सम्मानित भएका छन् । छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले देवकोट र बराललाई ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने प्रेस काउन्सिल बैठकले निर्णय गरेको हो ।
पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ रहेको काउन्सिलले जनाएको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत सो निर्णय गरेको हो । आगामी २४ मंसिरमा एक समारोहबीच पुरस्कार प्रदान गरिने काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।