आज अन्तर्राष्ट्रिय अपांगता दिवस
काठमाडौं, १७ मंसिर । अाज डिसेम्बर ३ अर्थात् २७ औं अन्तर्राष्ट्रिय अपांगता दिवस । ‘अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तर्राष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ । अपांगता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपांगता वर्षका रुपमा घोषणा गरेको थियो ।
सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट यो दिवस मनाउन थालिएको यो हो । राष्ट्रिय जनगणनाअनुसार नेपालमा करिब ५ लाख अपांगता भएका व्यक्ति छन् ।
विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपांगता रहेको उल्लेख छ । अपांगता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतल शुभकामना सन्देश जारी गरेका छन् ।