‘पिक एण्ड ड्रप’ अभियान सुरु
काठमाडौं , १ पुस । काठमाडौं महानगरपालिकाले आजदेखि बढ्दो सवारी जाममा कमी ल्याउन टुंडिखेल आसपास क्षेत्रमा पिक एन्ड ड्रप अभियान सञ्चालन सुरु गरेको छ । सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने अभियान सुरु गरिएको हो । सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्या न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान सुरु गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । टुंडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो ।
पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानुनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ । यो अभियानले सफलता पाएसँगै उपत्यकाका सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ ।