११ तले आधुनिक धरहराकाे शिलान्यास
काठमाडौं, १२ पुस । २०७२ वैशाखको भूकम्पले भत्किएर ठूटाे मात्र रहेकाे ९ तले धराहराकाे ठुटाे यथावत राखी सोहि स्थान नजिक आधुनिक प्रविधिद्वारा ११ तले आधुनिक धरहराकाे निर्माणको औपचारिक रुपमा शिलान्यास आज गरिँदै छ । पुनर्निर्माणमा भएकाे ढिलाइले धरहरा ढलेकाे ३ वर्षपछि आज औपचारिक रुपमा पुनर्निर्माणकाे शिलान्यास गरिन लागेकाे हाे । शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे गर्ने कार्यक्रम रहेको छ । धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतकाे सुरुआत भने केही साताअघि नै भइसकेकाे छ । ओली पहिलाेपटक प्रधानमन्त्री हुँदा २०७२ सालमै ‘मै बनाउँछु मेराे धरहरा’ नारा दिएर रकम संकलन अभियान नै चलाएका थिए ।
पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको छ । कम्पनीले तीन अर्ब ४५ करोड रुपैयाँमा धरहरा निर्माणको जिम्मा पाएको हो । नयाँ बन्ने धराहरा र कम्पाउन्ड २९ रोपनी क्षेत्रफलमा फैलिने बताइएकाे छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङलगायतका सुविधाहरु रहनेछन् । नयाँ बन्ने धरहरा ११ तलाको हुने जनाइएकाे छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी आधुनिक लिफ्ट हुनेछ । यद्यपि नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिने भए पनि धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । यसअघि विसं १९९० सालको भुइँचालोले भत्काउनुअघि धरहरा ११ तलाकै थियो, त्यतिबेला पुनर्निर्माणका क्रममा ९ तला मात्र बनाइयाे ।