‘भ्यालेनटाइन डे’ भन्दै जुवा खेल्ने २३ पक्राउ
काठमाडौ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले ‘भ्यालेनटाइन डे’को अवसर भन्दै जुवा खेलिरहेकाे अवस्थामा २३ जना जुवाडे पक्राउ गरेको छ । विहीबार राति रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । पक्राउ पर्नेहरु चितवन, तनहुँ र गेरखाका रहेका छन् । उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । उनीहरू विहीबार दिउँसो गोरखासमेत पुगेर जुवा खेलेकाे प्रहरीले जनाएकाे छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र सबैलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने समेत चितवन प्रहरीले जनाएकाे छ।