तीन दिनसम्म माैसम नखुल्ने
काठमाडौँ, ७ फागुन । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी भेगका केही स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जनसहितको हल्का वर्षा तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाकाे भनाइ छ ।
यसैगरी भाेलि बुधबार देशको पश्चिमी भेगमा आंशिक बदली हुने र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । भाेलि पनि हल्का झरी पर्ने सम्भावना कायमै छ । साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाकाे अनुमान छ । महाशाखाका अनुसार, बिहीबार भने मुलुककाे पश्चिमि भेगमा सामान्य बदली हुने र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ । बिहीबार पनि पश्चिमी भेगमा छिटफुट र पूर्वी भेगका अधिकांश ठाउँमा हल्का वर्षा हुनेछ । भूमध्य सागरीय वायुको प्रभावले नेपालमा हिँउँदे झरी लम्बिँदै गएकाे महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।