आज ग्याल्बो ल्होसार

२०७५ फाल्गुन २३ गते, बिहीबार

काठमाडौं, २३ फागुन । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय लगायत बौद्ध धर्मावलम्बीले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी ल्होसर मनाउने गर्दछन् । बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसङ्ग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ ।
तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ । यस नियमले १ सय २० वर्षमा १ चक्र पूरा हुन्छ । आज तिब्बती पञ्चांगअनुसार खीलो (कुकुर वर्ष) सकिएर फग (सुँगुर वर्ष) २ हजार १ सय ४५ प्रारम्भ हुने दिनका रूपमा ग्याल्बो ल्होसार मनाइँदै छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ।

प्रतिक्रियाहरु

[anycomment]