मनाङमा हिमपहिरो , दुईको मृत्यु

२०७५ फाल्गुन २५ गते, शनिबार

काठमाडौं, २५ फागुन । मनाङको क्याङ्दीमा हिम पहिरो जाँदा हिउँमा पुरिएर एकजना नेपाली गाइडको मृत्यु भएको छ । शुक्रबारदेखि हराइरहेका एक पर्यटककाे पनि शव फेला परेकाे जनाइएकाे छ । मृत्यु हुने गाइड धादिङका अजय ढकाल रहेकाे खुलेकाे छ । हराइरहेका नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम पनि आज मृत अवस्थामा फेला परेका हुन् । मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा खसेपछि उनकाे खाेजीकार्य सुरु भएकाे थियाे । ढकालको शव शुक्रबार साँझ नै फेला पारिएकाे हाे भने नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने आज फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार भिनसेन्ट ब्लुमको शव आज बिहान ११ बजेतिर मनाङको निस्याङ गाउँपालिका-१, क्याङ्दीमै फेला परेको हो । मनाङबाट अन्नपूर्ण पदयात्रा सकेर फर्किने क्रममा गत बिहीबार उनीहरु पहिरोमा परेका थिए । मृतक गाइड ढकालको शव आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसकिएकाे र ब्लुमको शव पनि ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]