१०१ वर्ष उमेरमा नागरिकता !
काठमाडौं, २८ फागुन । गुल्मी खड्गकोटकी एक वृद्धाले १०१ वर्ष उमेरमा नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिकामा पुगेर एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेपछि सो गाउँपालिका वडा नम्बर–६ , खड्गकोटकी १०१ वर्षीया वृद्धा पविकला थापाले नागरिकता पाएकी हुन् । सो गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सञ्चालन भएको शिविरमा उनी र अरू वृद्धवृद्धा गरी ५ सय ३५ जनाले नागरिकता पाएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
शिविरमा जिल्ला स्वास्थ्य र अस्पतालबाट डाक्टर लगायतका स्वास्थ्यर्कीहरुले त्यहाँका २ सय ३४ जनाले स्वास्थ्य उपचार समेत पाएका छन् । त्यस क्रमममा घरेलु तथा साना उद्योग तथा वाणिज्य संस्था दर्ता १५ , नवीकरण १०, र उद्योग सञ्चालन सम्बन्धी परामर्श ३५ जनालाई प्रदान गरिएको थियो ।
विकट गाउँपालिका कालिगण्डकीमा घुम्ती शिविर राखेर सहज प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्य सहित सञ्चालन गरिएको शिविरबाट त्यहाँका जनताले सदरमुकाम तम्घास आउँदा जाँदाको प्रति व्यक्ति ५ हजार खर्च बचेको र कुल २७ लाख रुपैयाँ कालिगण्डकीवासीले बचाउन सकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बताए ।