जन्तीबस दुर्घटना.२ को मृत्यु १७ घाइते
काठमाडौं, २८ फागुन । भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ जाँदै गरेको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार रहेका छन् । यस दुर्घटनामा १७ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको जानकारी गराइएको छ । भक्तपुरबाट जन्ती लिएर तीनवटा जन्तीबस हेटौंडातर्फ लागेको थियो, जस मध्ये सबै भन्दा पछाडिको बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटना भएको बसमा २८ जना सवार थिए ।