आज फागु पूर्णिमा
काठमाडौँ , चैत । आज फागुन शुक्ल पूर्णिमा ,फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउछन ।