कपिलवस्तुमा गाेली चल्यो , एक जनाकाे मृत्यू
काठमाडाैं, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यू भएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।