अव्यवस्थित होर्डिङबोर्डले मानवीय खतरा
काठमाडौंँ, २३ चैत । हावाहुरीको मौसम शुरू भएसँगै काठमाडौं महानगर क्षेत्रका कतिपय स्थानमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड र प्रचार सामग्रीले मानवीय र भौतिक सुरक्षामा गम्भीर असर पर्न सक्ने खतरा बढेको छ । महानगरका नयाँसडक, असन, सुन्धारा, ठमेल, लैनचौर, रत्नपार्क, त्रिपुरेश्वर, टेकु, कलङ्की बानेश्वर, कोटेश्वर र चाबहिल लगायतका क्षेत्रमा व्यावसायिक विज्ञापन र होर्डिङ बोर्ड यत्रतत्र राख्दा समस्या हुने देखिएको हो । साँघुरो र व्यस्त स्थानमा राखिएका यस्ता होर्डिङ र प्रचार बोर्डले मानवीय जोखिम निम्तिन सक्नेप्रति महानगरपालिकाको भने ध्यान गएको देखिदैन । महानगरपालिकाले जारी गरेको बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीतिमा मानवीय, भौतिक सुरक्षा र सहरी सौन्दर्यमा कुरूप पार्ने गरी होर्डिङ बोर्ड राख्न निषेध गर्ने व्यवस्था छ । तर त्यसको प्रभावकारी अनुगमन र नियमन नहुँदा कुनै पनि बेला जोखिम निम्तिन सक्ने देखिन्छ । वि सं २०७० मा बनेको उक्त नीतिमा सार्वजनिक र व्यक्तिको घरको छतमा राखिने होर्डिङ् बोर्डलाई आधुनिक प्रविधियुक्त र वातावरणमैत्री बनाउँदै होर्डिङ् बोर्ड र प्रचार सामग्रीको अनुगमन र नियमन गर्ने उल्लेख छ । नीति बनेको पाँच वर्ष भइसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाल महानगरले सबै स्थानमा होर्डिङ बोर्ड राख्ने अनुमति व्यवसायीलाई नदिएकाले अनुमगन गरी त्यस्ता होर्डिङ बोर्ड र प्रचार सामग्री हटाउने बताउनुभयो । अव्यवस्थित प्रचार र होर्डिङ बोर्डले सहरी सौन्र्दयलाई समेत कुरूप पारिएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख शाक्यले धरापमा परेका र अव्यस्थित प्रचार सामग्रीलाई महानगरपालिकाले हटाउँदै जाने जानकारी दिनुभयो ।
महानगरपालिकाले प्रभावकारी अनुगमन र नियमन नगर्दा महानगर क्षेत्रमा राखिएका होर्डिङ् बोर्डबाट कतिपय व्यवसायीले व्यक्तिगत लाभ लिएका छन् । तर त्यसको अपजस महानगरपालिकाले खेप्नुपरेको छ । महानगरपालिकाद्वारा जारी नीतिमा विज्ञापन बोर्ड तथा प्रचार सामग्री राख्न पाउने स्थान, तरिका तथा सामग्री र निषेध गरिएका स्थान तथा सामग्रीहरुको मापदण्ड तोक्न सकिने व्यवस्था छ । त्यसैगरी सार्वजनिक जग्गा, ऐतिहासिक सम्पदाको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिने, विज्ञापन बोर्ड तथा प्रचार सामग्रीको प्रयोगमा आधुनिक प्रविधिको प्रवद्र्धन र सामाजिक मूल्य मान्यतालाई आत्मसात् गर्नुपर्ने छ ।
त्यसैगरी, महानगर क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारका विज्ञापनयुक्त, प्रचारात्मक, सूचना वा सन्देशमूलक बोर्ड, परिचयपाटी तथा सामग्रीहरु राख्न नपाउने व्यवस्था गर्ने, महानगर क्षेत्रका सबै बाह्य विज्ञापन बोर्ड तथा सामग्रीको नियमन गर्दै आन्तरिक साधनको उपयोगसमेत गरी यस क्षेत्रबाट प्राप्त हुने राजस्व वृद्धि गर्ने नीतिमा उल्लेख छ ।
त्यस्तै, महानगर क्षेत्रका ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयको बाहिरी सीमाबाट कम्तीमा एकसय मिटरसम्म ३० वर्गफिटसम्मको व्यावसायिक परिचयपाटी बाहेक व्यावसायिक विज्ञापन बोर्ड तथा प्रचारसामग्री राख्न निषेध गरिएको छ । महानगर क्षेत्रमा राखिएका होर्डिङ् बोर्डबाट गत वर्ष महानगरपालिकाले १० करोड रूपियाँ राजस्व सङ्कलन गरेको थियो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अव्यवस्थित रूपमा राखिएका होडिङ र प्रचार बोर्डको तत्काल अनुगमन गरी त्यस्ता बोर्ड हटाउने बताउनुभयो । – नगेन्द्र सापकोटा , गोरखापत्र दैनिक