गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला सार्न माग

२०७६ जेष्ठ १९ गते, आईतवार

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी चितवनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला अन्यत्र सार्न माग गरेको छ।
भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति एक बिज्ञप्ति मार्फत रंगशाला अन्यत्र सार्न माग गरेको हो । नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले प्रेसविज्ञप्ति जारी गर्दै विश्वविद्यालयको जग्गा अतिक्रमण गर्ने कामका बिरुद्द बिरोध गरेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चितवनका अन्य स्थानमा निर्माण गर्ने विकल्प हुँदाहुँदै सत्ताशक्ति दुरुपयोग गरेर कृषि र वन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी क्रिकेट रंगशाला बनाउने कुरा विश्वविद्यालय र विद्यार्थीको हितमा समेत छैन ।’ सडकका लागि जमिन माग गर्दा प्रष्ट जवाफ नपाएपछी जेठ १५ गते बिरोधमा उत्रिएका स्थानीयलाई गिरफ्तार गरिएको घटनाको विरोध गर्दै नेकपाले गिरफ्तार गरिएका सबैलाई बिनासर्त रिहा गर्न माग गरेको छ । विश्वविद्यालयको हाताभित्र कृषि र वनसँग सम्बन्धित बाहेक अरु कुनै पनि संरचना नबनाउन र जमिन अतिक्रमण रोक्न पनि नेकपाले अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर गरिरहेमा हाम्रो पार्टी विश्वविद्यालयको जमिन रक्षार्थ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जबाफदेही भरतपुर महानगरपालिका र सम्बन्धित लगानीकर्ता, गैरसरकारी संस्था हुनुपर्नेछ ।’
नेपाल कृषिप्रधान देश हो यहाँ कृषि वनसँग सम्बन्धित अनुसन्धानमूलक विश्वविद्यालय एउटा मात्र रहेको छ । खाद्य सुरक्षाका लागि नयाँ बिउ, नयाँनयाँ रोगका विषादी उत्पादन गर्न हजारौँ प्रकारका अनुसन्धान र विभाग आवश्यक पर्दछ । पशुपंछी सम्बन्धी सयौँ अनुसन्धान अनिवार्य छ । हरेक विभागीय अनुसन्धानका लागि जमिन पूर्वसर्त हो । यही विश्वविद्यायले त्यतिकै विशाल र महत्वपूर्ण वन विज्ञानको भारवहन गर्नुपरेको छ । कृषिको आधुनिकीकरण र विकास नगरी औद्योगिकीकरण सम्भव छैन । त्यसकारण विश्वविद्यालयले राम्रोसँग काम गर्ने हो भने भएकै जमिन अपुग हुन सक्छ । त्यस्तो अवस्थामा कलेजलाई जग्गा थप्नुको सट्टा अतिक्रमण गर्नु दीर्घकालीन, अविवेकीय, गैरजिम्मेवार र प्रचारमुखी हर्कत मात्र हुन जान्छ । रंगशाला निर्माणका लागि भण्डारा, खैरहनी, टिकौली, गुन्जनगरलगायत स्थानमा जग्गा नभएको पनि होइन । त्यसकारण कृषि र वन विश्वविद्यालयको दीर्घकालीन हितविरोधी रंगशाला बनाउने कार्य उक्त स्थानबाट स्थानान्तरण गर्नु मुलुककै हितमा हुन जान्छ ।

प्रतिक्रियाहरु

[anycomment]