कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते
काठमाडौं , २५ जेठ । गए राति काठमाडौंको माइतीघरमा कार र मोटरसाइकल ठोक्किए र दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डे रहेका छन् भने अर्का एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको र मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।