अर्को साता मनसुन भित्रने

२०७६ जेष्ठ २७ गते, सोमबार

काठमाडौँ, २७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।
नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । “मनसुन आउने क्रममा छ,” मौसमविद मन्जु बासीले भन्नुभयो, “मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।” मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ । “अझ छ दिनजति लाग्छ नेपालमा मनसुन आउन,” अर्का मौसमविद समिर श्रेष्ठले थप्नुभयो, “सुरुमा झापा र मोरङ छुन्छ, त्यसपछि मध्यक्षेत्रमा मनसुन पस्छ ।”
उहाँका अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ । अफ्रिकास्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिया हुँदै पूर्विदिशाबाट मालदिभ्स र श्रीलङ्का पुग्छ । त्यहाँबाट बंगालको खाडी हुँदै भारतको केरलाको बाटो यसवर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताउनुभयो ।
“यसबेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ,” श्रेष्ठले थप्नुभयो, “त्यस स्थानमा भारतको मध्यक्षेत्रमा उत्पन्न भएको न्यून चापीय वायुका साथै पाकिस्तान र बंगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ ।” जलवाष्पयुक्त उच्चचापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिनेगर्छ ।
यसवर्ष पूर्र्वी भेगमा कम पानी पर्ने र पश्चिममा औसत पानी पर्ने पूर्वानुमान यसवर्षको मनसुन फोरमले गरेको छ । सोही अनुसार प्रदेश १, २, ३, ४ र ५ मा वर्षा कम हुन सक्छ । त्यही अनुसार किसानलाई जानकारी दिने तयारी भइरहेको नार्क स्थित कृषि वातावरण विभागका कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिनुभयो । “यतिबेला धानको बिउ राख्ने बेला हो,” उहाँले थप्नुभयो, “मनसुनको आगमनको संकेतसँगै बिउ राख्न भनिएको छ । कुलो भएका स्थानका किसानले बिउ उमारिसकेका छन् ।”- चाँदनी हमाल, गोरखा पत्र दैनिक

प्रतिक्रियाहरु

[anycomment]