गुठी विधेयकविरुद्ध खबरदारी सभा हुदै
काठमाडौं,४ असार । सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न आज काठमाडौंको माइतीघर मण्डलामा खबरदारी सभा हुने भएको छ । गुठी विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै आज माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिएको छ । सरोकारवालाले राजधानीमा आज विशाल प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकार पछि हटेको हो ।