मापसे गरेर गाडी हाँके पछि …
काठमाडौं, १४ असार । केशरमहलबाट कान्तिपथतर्फ गइरहेको कार कच्याकुचुक पर्नेगरी दुर्घटनाग्रस्त भए पनि घटनामा काेही हताहती नभएकाे प्रहरीले जनाएकाे छ । आज बिहान करिब ६ बजेतिर बा ११ च ३६०४ नम्बरको कार जमलमा आइपुग्दा दुर्घटनामा परेकाे हाे । साे दुर्घटनामा कारका चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते रहेकाे ट्राफिक प्रहरीले बताएकाे छ । प्रहरी स्राेतका अनुसरा साे कारमा ३ जना यात्रु सवार थिए तर खतरनाक दुर्घटना हुँदा पनि सबै सकुशल छन् । कारका चालकलाई नियन्त्रणमा लिएर साेधपुछ गर्दा उनले मदिरा सेवन गरेर गाडी हाँकेकाे भेटिएकाे छ । उनकाे खुट्टामा सामान्य चाेट लागेकाे छ भने कार क्षतविक्षत रहेकाे छ । अनियन्त्रित रुपमा आएकाे कार कान्तिपथस्थित होटल एलो प्यागोडा अगाडि आइपुग्दा सडकको रेलिङमा ठाेक्किएर दुर्घटनाग्रस्त भएकाे प्रहरीकाे भनाइ छ ।
यसैगरी, रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं १ स्थित तेर्सेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साे जीपमा सवार वडाअध्यक्ष भने बाँच्न सफल भए पनि घाइते भएर उनकाे अवस्था गम्भीर रहेकाे छन् । आज बिहान दुरागाउँबाट साब्रातर्फ जाने क्रममा ना ४ च ६२०५ नं को बोलेरो जीप तेर्सेमा पुग्दा दुर्घटनाग्रस्त भएकाे हाे । दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ । वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले बताएकाे छ । प्रहरीका अनुसार वडाध्यक्ष हाम्फालेर बाँच्न सफल भएका हुन् । घुम्तिनिर पुग्दा जीपले आवश्यक माेड नलिएपछि चालक र वडाध्यक्ष दुवैले दायाँबाँया साइडमा हाम फालेका थिए । तर चालक हाम्फालेकै साइडमा जीप पल्टिएपछि उनी किचिएकाे बताइएकाे छ ।