बाग्लुङका स्थानीय ‘हनी हन्टिङ’मा !

२०७६ श्रावण ७ गते, मंगलवार

काठमाडौं, ७ साउन । भीरमौरीको मह काढ्ने सिजन सुरु भएको छ । यति बेला बाग्लुङका स्थानीय भीरमौरीको मह निकाल्न व्यस्त भएका छन् । भीरमौरीको मह खानलाई स्वादिस्ट र औषधिका रुपमा समेत प्रयोग हुने भएकाले मह काढ्ने चटारो चलेको हो ।
परम्परादेखि नै भीर मौरीको मह निकाल्दै आएका उनीहरुले यो पटक पनि ‘हनी हन्टिङ’मा जुटेका हुन् । त्यसको लागि बाबियोको डोरी बाँसको चोयाँले बाधेर अग्ला पहराहरुमा जाने गरेका छन् । भीर मह पुर्खादेखि नै संकलन गर्दैै आएको र यो विभिन्न रोगहरुको औषधि समेत हुने स्थानीय केहरसिंह घर्ती मगरले बताउँछन् । हरेक वर्षको यहीँ सिजनमा भीर मह काढ्ने गरिएको छ । गाउँका सबै घर परिवार सामूहिक रुपमा भीर, तथा ओडारमा गई मह निकाल्ने गर्दछन् । एउटा घारमा दुई पाथीदेखि ४ पाथीसम्म मह निस्कने उनीहरुको भनाइ छ ।
मह बिक्रीबाट संकलित रकम सार्वजनिक सरोकारका शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रमा समेत प्रयोग हुँदै आएको छ । मह काढ्ने अभियानमा जनप्रतिनिधीहरु समेत पुग्ने गरेका छन् । स्थानीयको आय स्तर बढाउन र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउने उद्देश्यलाई मह शिकारले महत्वपूर्ण भूमिका खेल्ने निसीखोला गाउँपालिकाका अध्यक्ष्य तारानाथ पौडेलको भनाइ छ ।
यसरी संकलन गरिएको मह प्रतिमाना ७ सय रुपैयाँमा बिक्री हँुदै आएको छ । भीर मह जेठदेखि साउन महिनाको अन्तिम हप्तासम्म निकाल्ने गरिन्छ । जिल्लाको निसीखोला, बोहोरागाउ, देविस्थान, रणसिंङकिटेनी, जलजला, ताराखोला, पाण्डवखानी लगायतका स्थानबाट भीर मह निकाल्ने गरिएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उचित उपयोग गरेर हाम्रो विकास र समृद्धिको लक्ष्यलाई भेट्याउन सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]