रोजगारीका लागि भारत जानेको घुइँचो
काठमाडौं, १३ साउन । खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ । गड्डाचौकी नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तुलाराज गिरीले बताए । उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि वृद्धसम्म रहेका छन् । उनीहरु रोपाइँ सकिएपछि दसैं खर्च जुटाउन भारतको सिम्ला, मुम्बई, दिल्ली तथा पुणेमा मजदुरी गर्न जाने गर्दछन् ।
धान रोपिसकेपछि तीन÷चार महिना खाली बस्नुपर्ने भएकाले रोपाइँ सकेर रोजगारीका लागि भारत जान लागेको बर्दियाका गणेश चौधरीले बताए । उनले नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण आफूहरु छोटो समयका लागि पनि भारतमै निर्भर हुनुपरेको गुनासो गरे । साउनको पहिलो सातादेखि रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्ने गरेको छ ।