आज साउन १५ , खीर खाएर मनाईदै
काठमाडौं, १५ साउन । आज साउन १५, नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।
नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ । वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकाले यसबाट बच्न खिर खानु फाईदाजनक रहेको बताइन्छ ।