यमपञ्चक सुरु, आज काग तिहार
काठमाडाैं, ९ कार्तिक । आज यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।
यसैगरी, आज वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।