टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु
काठमाडौं, २१ फागुन । गएराति टिपरको ठक्करबाट विराटनगर नगरपालिका-१९ मा हजुरबुबा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको १-००२ ह ८६०६ नम्बरको ट्याम्पोलाई राति साढे नौ बजे ठक्कर दिएको थियो । ट्याम्पो चालक बाबुराम सरदार र आरही कुमारी सरदार हजुरबुबा नातिनी भएको एसपी अधिकारीले बताए ।
प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का वर्ष ३२ का हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।
आक्रोशित भीडले टिपरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरी पुगी दुवै लाशको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ । ‘आज बिहान दुई सय ५० जना जति मानिस घटनास्थलमा भेला भई बाटो अवरोध गर्न खोजेका थिए मोरङकका एसपी अधिकारीले भने, उहाँहरुलाई सम्झाइबुझाई बाटो सुचारु गरेका छौ ।’