आज तराई–मधेसमा होली मनाइँदै
काठमाडाैँ, २७ फागुन । आज तराई–मधेस क्षेत्रमा धुमधामका साथ होली मनाइँदै छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबिर लगाएर आज होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ । फागु पुर्णिमाका अवसरमा आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता अभिप्रेरित गर्ने यो पर्वमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गरिन्छ ।
पाैराणिक कालमा दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा प्रह्लादकाे विष्णु-भक्तिका कारण होलिका नै भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको लोककथनका आधारमा यो पर्व मनाइन्छ ।
सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ । मिथिलाको प्रभाव क्षेत्रमा भने भोलि मात्रै मनाइनेछ ।