वडा अध्यक्ष कै नेतृत्वमा इट्टाभट्टामा आक्रमण
काठमाडौँ, २ चैत । वडा अध्यक्ष अशोक यादवको अगुवाईमा सयौंको संख्यामा गएका मानिसहरुले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ दुधियाभार चौकमा दाईभाई इट्टा उद्योगमा आक्रमण गरेका छन । सोहि वडाका वडा अध्यक्ष सहितको समूहले आक्रमण गर्दा लाखैँको क्षति भएको छ भने ८ जना घाइते भएको इट्टा उद्योग संचालक रामबाबु चौधरीको भनाइ छ ।
बाँस, लाठी, घरेलु हातहतियार सहित गएका मानिसहरुले आफ्नो इट्टा उद्योगमा आक्रमण गरेका संचालक रामबाबू चौधरीले बताए । संचालक चौधरीले वडा अध्यक्ष यादवले वडा कार्यालयमा रहेको काठ हिनामिना गरेको बारे आफूले अख्तियारमा मुद्दा गरेको कारण सोही रिसिवीमा यो घटना घटाएको बताउँदै दोषी उपर कडा कारवाहीको माग गरे । उनले आक्रमणबाट ७० लाख भन्दा बढीको क्षति भएको दावी गरेका छन् । आक्रमणमा परी चौधरीका भाई मुखेश कुमार चौधरी सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ । कुटाइबाट गम्भीर घाइते मुकेश कुमार चौधरीलाई गरुडामा समान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।
आक्रमणकारीहरुले इट्टा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्रेकटर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।