पनौतीमा कर्फ्यु
काठमाडौँ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती क्षेत्र तनावग्रस्त बनेपछि कर्फ्यु जारी गरेकाे छ । सोमबार पनौतीमा एक टिपरको ठक्करबाट आमा र छोरीको मृत्यु भएपछि तनाव बढेको हो । आज बिहानैदेखि मृतकका आफन्त लगायत स्थानीयले प्रदर्शन चर्काएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए ।
मंगलबार बिहान ९ बजेदेखि लागु हुने गरी अर्काे सूचना नभएसम्मका लागस पनौती बजारमा कर्फ्यू जारी गरिएकाे काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए । कर्फ्युपछि पनाैती बसपार्क र बजार क्षेत्र सुनसान रहेकाे छ । मृतकका आफन्तलगायतले बाटो अवराेध गरी ढुङ्गामुढा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलअारबाट १५ राउन्ड हवाइ फायर तथा १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको जनाइएकाे छ । प्रदर्शनकारीले प्रहरीकाे बिटमा ताेडफाेड गरी क्षतिग्रस्त बनाएका छन् भने घटनामा प्रहरी तर्फ ४ जना र स्थानीयतर्फ ६ जना घाइते भएको जनाइएकाे छ । सोमबार दिउँसो बनेपा बसपार्कबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर घाइते भएका थिए, उपचारको क्रममा उनीहरुको मृत्यु भयो । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका गोले रहेका छन् ।