मैतीदेवी पेट्रोल पम्पलाई दुई लाख जरिवाना
काठमाडौँ , ५ चैत । आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले पेट्रोल लुकाएर उपभोक्तालाई हैरान पार्ने र लाईन बस्न बाध्य पार्ने पेट्रोलपम्पहरुमाथि कार्बाही शुरु गरेको छ । यसै क्रममा आज मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि टोलीले जरिवाना गरेको हो ।
‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाईए पछि पम्प कार्बाहीमा परेको हो । धेरै पेट्रोल पम्पले छैन भन्ने टाँगेर तेल लुकाए पछि वाणिज्य विभाग र निगमले कार्बाही थालेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले तेल जति चाहिए पनि निगमले उपलव्ध गराईरहेको बताएका छन् । सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ ।
आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘निगमले आपूर्तिको मात्रा पर्याप्त बढाएको छ ।
यस्तो अवस्थामा उपभोक्तालाई भयावित गराई फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेताको सलग्न पाएमा कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।