आज चैते दशैं
काठमाडाैं, १९ चैत । आज चैत शुक्ल अष्टमी अर्थात चैते दशैं । असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ ।
अरूबेला चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाथ्यो । यसपाली भने सरकारले कोरोना संक्रमण नफैलियाेस् भनेर लकडाउन गरेकाे कारण सबै देशभरका शक्तिपीठहरु सुनसान रहेका छन् ।