आज रामनवमी
काठमाडौँ, २० चैत । आज चैत्र शुक्ल नवमी अर्थात् हिन्दू धर्मावलम्बीहरुको आस्थाको पर्व रामनवमी ।प्रत्येक वर्ष तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व मनाइने गरिन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । त्यसैकाे सम्झनामा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा रहिआएकाे हाे ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ र मेला महाेत्सव लाग्ने गर्छ । तर यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउन र भीडभाड नगर्न जारी निर्देशनका कारण भक्तजनले घरमै बसेर आराधना गरी मनाउँदै छन् ।
प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् रामचन्द्रको जन्म दिनको रुपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।
विगतका वर्षहरुमा क्रममा राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो । राजधानीकै प्रसिद्ध राम मन्दिरमा ललितपुर, भक्तपुरबाट भक्तजन पूजाका लागि आउँथे । यसपालि भने यहाँ सुनसान रहने भएकाे छ ।
रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दथ्यो । मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो हुन्थ्यो । तर मुलुक लकडाउनमा रहेकाले यस वर्ष भने ती मन्दिर, तीर्थस्थल सबै सुनसान रहेका छन् । भीडभाड हुन नदिन मेला पर्व तथा दर्शनमा निषेध गरिएको छ, तर मन्दिरभित्र र घरघरमा औपचारिक पूजाआजा भने हुने बताइएको छ ।