काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा
काठमाडौं, २५ बैशाख । थानकोट प्रहरीका अनुसार अनधिकृत रुपमा काठमाडौं प्रवेश गर्न खोज्ने १ सय तीन वटा सवारी साधनलाई फर्काइएको छ । लकडाउनका क्रममा पनि लुकीछिपी प्रवेश गर्नेको संख्या बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
यसैबीच , काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्र केसी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीलगायतका जनप्रतिनिधिको टोलीले आज नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरी नाकामा थप कडाई आवश्यक रहेको बताएका छन । उनीहरुले बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरुका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नु पर्ने बताएका छन ।
सांसद केसीले नागढुंगाबाट हल्ला भएजस्तो ठूलो संख्यामा मानिसहरु नभित्रिएको भन्दै नाकामा सुरक्षााकर्मी,स्वंयसवेक निरन्तर खटिरहेको बताए ।
काठमाडौं महानगरपालिकाका उपमेयर खड्कीले सरकारी सवारी साधनबाट समेत मानिसहरु काठमाडौं आउने गरेको भन्दै यो क्रम रोकिनु पर्ने बताइन् ।