कोरोना संक्रमितको संख्या ४४४ पुग्यो
काठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको जनाएका छन् । झापाको कचनाकवल गाउँपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वा मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।