कोरोना संक्रमित शिक्षकको मृत्यु
काठमाडाैं, ८ जेठ । कोरोना भाइरस संक्रमण भइ बुटवलको क्रिमसन अस्पतालमा उपचार गराइरहेका एक शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ । सामाजिक विकास मन्त्रलयले श्रद्धान्जली दिंदै ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं’ भनेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कंगे देउराली आधारभूत विद्यालयका प्राध्यापक समेत रहनुभएका उहाँको निधनले अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले शब व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने बिषयमा परिवारसगँ पनि सम्पर्क भएको र जिल्ला प्रशासनको समन्वयनमा व्यवस्थापनका लागि तयारी भईरहेको जानकारी दिए । मन्त्री बरालले सरकारले तोकेको मापदण्ड बमोजिम सके सम्म नजिकै व्यवस्थापन गर्ने छलफल भएको बताए । विरामीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो। उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।