क्वारेन्टाईनमा बसेका युवाको मृत्यु !
काठमाडौं, २५ जेठ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । ती व्यक्ति शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए।
मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।
यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यता , डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मुटुको रोगी भएको स्थानीयले बताएका छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उक्त क्वारेन्टाइनमा रहेका अन्य १० जनाकै स्वाब संकलन गरिने बताइएको छ ।