विदेशबाट आएका ९५ प्रतिशत व्यक्ति कोरोना संक्रमित !
काठमाडौं, ८ असार । नेपालमा कोरोना सङ्क्रमित अधिकांश विदेशबाट आएका व्यक्ति भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमिबारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद पाण्डेले नेपालमा कोभिडका सङ्क्रमितमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको बताए । उनले कूल कोरोना सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो सङ्ख्यामा ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड सङ्क्रमित भएर आएको अवस्था रहेको डा पाण्डेले बताए ।उनका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये सबैजसो काम विशेषले विदेश गएर फर्किएका व्यक्ति र धेरैजसो पुरुष रहेकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ । डा पाण्डेले अहिलेसम्मको मृत्युको अवस्थालाई हेर्दा पनि कोरोनाका कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचापआदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।
अहिले दैनिक बढेको कोरोना सङ्क्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि सङ्क्रमितको सङ्ख्या पनि घट्दै जाने उनले बताए ।
पछिल्लोपटक छ देखि आठ दिनको अवधिमा झण्डै दोब्बर सङ्क्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउनेक्रम पनि बढिरहेकाले सङ्ख्या धेरै देखिएको डा पाण्डेको भनाइ छ । महाशाखाले सम्भावित सङ्क्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोरोनाको सङ्क्रमण जान नदिन सक्रियरुपमा लागि परेको निर्देशक पाण्डेले बताए । नेपालमा कोरोना संक्रमितको संखया ९ हजार बढी पुगिसकेको छ ।